विद्यार्थीको सिकाइस्तर खस्किएको शिक्षकको गुनासो
कोरोना महामारीका कारण धेरै प्रभावित बनेको शिक्षा क्षेत्र पनि हो । सात महिनापछि शैक्षिक संस्थाहरू सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर, अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७, डाँडागाँउका सन्तोष नेपाली श्री पन्चकन्या आधारभूत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा ५ बाट प्रथम भएर ६ मा गएका सन्तोष सात महिनापछि मात्रै कक्षा ६ को पढाइ गर्न विद्यालय आउन पाउँदा खुसी छन् । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय बिताएका नेपाली आफूलाई पढ्नुपर्छ भन्नेचाहिँ लागेको बताउँछन् ।
तर, पनि विद्यालय आएर नियमित पढेजस्तो चाहिँ नभएको उनको अनुभव छ । सन्तोष कोरोनाको त्रासको बीचमा विद्यालय आउनुपर्दा मास्क लगाएर आउने गर्छन् । घरबाट निस्कने बेला स्यानिटाइजर लगाएर आउने गरेका उनी विद्यालयमा भने पटक-पटक साबुनपानीले हात पनि धुने गर्छन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्चालन भएर पढ्न पाँउदा आफू खुसी भएको उनको भनाइ छ ।
सोही ठाउँका सुस्मिता भण्डारी पनि कक्षा ६ मा नै पढ्दै छिन् । कोरोना महामारीकै बीचमा विद्यालय सञ्चालन हुँदा आफू सचेत र सुरक्षित भएर विद्यालय आउने गरेको उनले बताइन् । लामो समय विद्यालय बन्द हुँदा साथीहरूसँग भेटघाट गर्न नपाएकाले दुःखी भए पनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरूसँग भेट गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् ।
कोरोना संक्रमणबाट जोगिन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्ने गरेको र आइहालेमा दूरी कायम गरेर मात्रै बस्ने गरेको उनको भनाइ छ । पटकपटक साबुनपानीले हात धुने गरेकी सुस्मिता पनि घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्वीकार्दै विद्यालय खुल्दा खुसी लागेको बताउँछिन् ।
सुस्मिताकी आमा लक्ष्मी भण्डारी पनि विद्यालय खुलेकोमा आफू धेरै खुसी भएको बताइन् । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उनको भनाइ छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकोमा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिकस्तर सुधार हुने उनको अपेक्षा छ ।
पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिकस्तर भने खस्किएको पाएको बताए । कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीले सो मापदण्ड पूरा गर्न नसकेको उनको भनाइ छ । सात महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिकस्तर धेरै खस्किएको पाएको उनले बताए ।
अझै पनि देशभरका शैक्षिक संस्था बन्द रहेका छन् । कतिपय विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरिरहेका छन् । सरकारले वैकल्पिक माध्यमका पढाइ सञ्चालन गर्न भने पनि खासै प्रभावकारी बन्न नसकेको जानकार बताउँछन् ।