डाक्टर केसीका मागमा कांग्रेसको ऐक्यवद्धता
नेपाली कांग्रेसले डा. गोविन्द केसीले राखेका मागहरू जायज भएको भन्दै ऐक्यवद्धता जनाएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रूपमा विज्ञप्ति जारी गरिसकेको बताए ।
अब केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यवद्धता जनाउने तयारी भइरहेको उनले बताए । तर, कोरोना संक्रमण जोखिमका कारण सोमबार बस्ने भनेको केन्द्रीय कार्य समितिको बैठक बस्ने/नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उनले बताए ।
कार्यसमिति बस्नुअघि आजका बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उनले बताए । केन्द्रीय कार्यसमिति बैठक बस्ने/नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने पनि उनले स्पष्ट पारे । डा. गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश माग पूरा हुने पनि उनले बताए ।
पछिल्लो समय पीसीआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राखेकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उनको भनाई छ । संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए । यद्दपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दूरी कायम राखेर संसद अधिवेशन चलाउनुपर्ने उनले बताए ।
विदेशबाट नेपाली फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उनले बताए । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्ने पनि प्रवक्ता शर्माले बताए ।