अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
ट्रम्पलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै अमेरिकी राष्ट्रपति निर्वाचनअघि हुन गइरहेको दोस्रो प्रत्यक्ष बहसमा केही असर पर्छ कि भन्ने आशंका उत्पन्न भएको छ । अक्टोबर १५ मा राष्ट्रपतिका उम्मेदवारहरुको बीचमा दोस्रो प्रत्यक्ष बहस हुने तालिका छ ।
चीनको वुहानमा कोरोनाको पहिलो संक्रमित फेला परेको नौ महिनापछि त्यसको संक्रमण विश्वको सबैभन्दा शक्तिशाली मुलुकका राष्ट्रपतिलाई देखिएको हो । यस अवधिमा भने कोरोना महामारीलाई लिएर विभिन्न किसिमका उतारचढाव आए । सबैभन्दा धेरै चर्चा एवं विवादमा भने अमेरिकी राष्ट्रपति ट्रम्प नै रहे ।
ट्रम्पले सुरुदेखि नै कोरोनालाई कमजोर आँक्दै आएका थिए । उनले कोरोनालाई गम्भीर रुपमा लिएनन् र यसको विषयमा भ्रमपूर्ण अभिव्यक्तिहरु पनि दिए । उनले यसलाई एउटा हाउगुजीको संज्ञा दिएका थिए । ट्रम्पले गत फेब्रुअरी २८ मा चुनावी सभालाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी राजनीतिक रुपमा उचालिएको नयाँ हाउगुजी रहेको बताएका थिए । एनबीसी न्युजले उल्लेख गरेअनुसार सो सभालाई सम्बोधन गर्ने क्रममा उनले कोरोना अमेरिकाको लागि जोखिमपूर्ण नरहेको दाबी समेत गरेका थिए ।
कोरोनाको महामारीलाई ट्रम्पले कमजोर मात्र आँकेनन्, यसको विषयमा मानिसहरुमा भ्रमसमेत सिर्जना गर्ने काम गरे । जसको कारण कोरोना महामारी नियन्त्रणमा उनको भूमिकालाई लिएर प्रश्न उठ्ने गरेको छ । यहाँ उनले कोरोनाबाट छरेका केही भ्रमहरु उल्लेख गरिएको छ :
- एक कार्यक्रममा बोल्दै ट्रम्पले कोरोना भाइरस चमत्कारिक रुपमा हराएर जाने बताएका थिए । उनले यो भाइरसप्रति नै अविश्वास व्यक्त गरे ।
- विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गर्दा ट्रम्पले अमेरिकामा भने यसको जोखिम निकै कम रहेको प्रतिक्रिया दिएका थिए ।
- विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गर्दा ट्रम्पले अमेरिकामा भने यसको जोखिम निकै कम रहेको प्रतिक्रिया दिएका थिए ।
- अमेरिकामा ३७ हजार मानिसको सामान्य रुघाखोकीको कारण मृत्यु भएको तर रुघाखोकीलाई रोक्न लकडाउन गर्नुपर्ने वा सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था सिर्जना नभएको बताएका थिए ।
- अमेरिकामा ३७ हजार मानिसको सामान्य रुघाखोकीको कारण मृत्यु भएको तर रुघाखोकीलाई रोक्न लकडाउन गर्नुपर्ने वा सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था सिर्जना नभएको बताएका थिए ।
- उनले मुलुकमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको समयमा पनि उनले चुनावी र्यालीको आयोजना गरेका थिए ।
- ट्रम्पले कोरोनाबाट बच्न मास्क लगाउने नियमको पनि अस्वीकार गर्दै आएका थिए ।
- डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमण बढ्दै गएपछि अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोनाको करण मृत्यु हुनेको संख्या निकै कम रहेको भन्दै आफूले कोरोनाविरुद्ध चालेका कदमको बचाउ गरेका थिए ।
- ट्रम्पले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विन कोरोना नियन्त्रणको लागि सहयोगी हुने दाबी गरेका थिए । तर, वैज्ञानिकहरुको परीक्षणमा यो औषधि कोरोना नियन्त्रणको लागि सहयोगी नहुने पाइएको छ । ट्रम्प भने निरन्तर हाइड्रोक्सिक्लोरोक्विनको लिनुपर्ने पक्षमा छन् ।
- ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीको सरकार रहेका राज्यमा कोरोना भाइरस बढी फैलिएको र रिपब्लिकन पार्टीको सरकार रहेको स्थानमा कम फैलिएको दाबी गर्दै आएका छन् । तर, अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु भएका पाँच राज्य हेर्ने हो भने ३ वटामा डेमोक्रेटिकको सरकार छ भने दुईवटामा रिपब्लिकनको सरकार छ ।