‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । सोमबार एक कार्यक्रमका बीच नोबेल पुरस्कार समितिले चिकित्सातर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको हो ।
अमेरिकन वैज्ञानिक हार्वे जे. आल्टर र चार्ल्स एम. राइस र बेलायती वैज्ञानिक माइकल ह्युटनलाई हेपेटाइटिस सी भाइरसको खोजीका लागि नोबेल पुरस्कार प्रदान घोषणा गरिएको हो । यी विजेताहरूले ‘हेपाटाइटिस सी’लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौँ मानिसहरूको जीवन जोगाएको नोबेल पुरस्कार समितिले बताएको छ ।
नोबेल पुरस्कार समितिले सोमबार स्टकहोल्ममा पुरस्कार घोषणा गर्दै यी तीनै जना वैज्ञानिकले ‘हेपाटाइटिस सी’लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौँ मानिसको जीवन जोगाएको उल्लेख गरेको छ ।
'उनीहरूको कामले रक्त परीक्षण र नयाँ औषधि बनाउन सहयोग गरेर लाखौँको जीवन बचाएको छ,' समितिले भनेको छ, 'उनीहरूको खोजले हेपाटाइटिसको एन्टिवाइरल औषधिको तीव्र विकासलाई पनि गर्न सकिने भयो । साथै इतिहासमा पहिलो पटक यो रोग निको पार्न सकिने र विश्वबाट हेपेटाइटिस सी भाइरसको उन्मूलन गर्ने आशा जगायो ।'