आगलागी पीडित परिवारलाई सहयोग हस्तान्तरण
काठमाडौँ । आगलागीबाट पीडित लिजेन्डरी सेफ कृष्ण कार्कीको परिवारलाई ‘द भ्वाईस अफ सेफ’ र ‘सेफ्स सोशल रेस्पोसिविलिटी’ (सिएसआर) टिमको अगुवाईमा सहयोग रकम हस्तान्तरण गरिएको छ ।
नेपालमा रहेका तथा विभिन्न देशमा कार्यरत सेफहरुबाट संकलित १ लाख ३० हजार रुपैयाँ कार्की परिवारलाई हस्तान्तरण गरिएको हो । कार्कीलाई यसअघि ५० हजार हस्तान्तरण गरिएको थियो भने बिहीबार थप ८० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
नेपालका पहिलो एक्जुकेटिभ सेफ गोविन्द नरसिंह केसीले कार्कीलाई सहयोग रकम हस्तान्तर गरेका हुन् । कार्यक्रममा वरिष्ठ सेफ नारायण थपलिया, सिएसआरका सदस्य सेफ प्रकाश कटुवाललगायतको उपस्थिति थियो ।
कार्की ५५ वर्षदेखि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत छन् । गत असोज १३ गते काडाँघारीस्थित उनको घरमा ग्यास लिक भएर आगलागी हुँदा कार्कीकी श्रीमती, छोरी, छोरी र भतिजगरी परिवारका ५ सदस्य जलेका थिए ।
उनीहरुको शरीर ३० प्रतिशत जलेको जानकारी चिकित्सकहरुबाट प्राप्त भएको ‘द भ्वाइस अफ सेफ’ ब्लगका चिफ एडिटर विक्रम गिरी (भिक्स) ले जानकारी दिए । उनीहरुको कीर्तिपुरस्थित वन अस्पतालमा उपचार भइरहेको छ ।
‘द भ्वाइस अफ सेफ’ र सिएसआर टिमले लकडाउनयता ११ वटा संस्थामा दुई महिनाका लागि पुग्नेगरी खाद्यान्न सहयोग उपलब्ध गराइसकेको छ ।
त्यस्तै, यस अवधिमा होटल तथा रेष्टुरेन्टबाट रोजगारी गुमाएका २० जनाको परिवारका लागि २ महिना पुग्ने खाद्यान्न सहयोग गरिएको गिरीले बताए ।
‘हामीलाई सामाजिक कामका लागि विभिन्न देशमा रहेका सेफ साथीहरु र यहाँका साथीहरुले पनि सहयोग गरिरहनुभएको छ,’ गिरीले भने ।