प्रचण्ड : कर्णाली प्रदेशको विवाद प्रधानमन्त्री ओलीले नै मिलाउनुपर्छ
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तत्कालीन एमाले र माओवादी एकताअघि मुख्यमन्त्री भागवण्डा हुँदा कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो । पूर्व एमालेतर्फका १५ सांसद र पूर्वमाओवादीका ३ सांसदले शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सोमबार ओलीसँग बालुवाटारमा झण्डै एक घण्टासम्म भएको भेटमा प्रचण्डले विवाद मिलाउने जिम्मा ओलीकै भएको बताएका थिए।
‘कर्णालीमा जे भयो राम्रो भएन भनेर प्रचण्डले भन्नुभयो’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले नै मिलाएर लैजानुपर्छ भन्ने कुरा भयो।’ शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसद यमलाल कँडेल प्रधानमन्त्री ओली निकटका हुन् । उनी मुख्यमन्त्रीका आकांक्षी समेत हुन् । प्रचण्डले पार्टी एकताको काम नसकिँदै एकता विपरीतको गतिविधि भएकोमा प्रधानमन्त्री ओलीविरूद्ध असन्तुष्टि जनाएका थिए ।
‘यसले पार्टीमा र जनतामा राम्रो सन्देश जाँदैन भनेर अध्यक्षले अर्का अध्यक्षसँग कुरा गर्नु भएको छ’, प्रचण्डको सचिवालय स्रोतले भन्यो’, ‘पार्टी एकता मर्मतविपरीत जाने काम कर्णालीमा भयो भनेर भन्नु भएको छ।’
१८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न कर्णाली प्रदेशको नेकपा संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ।