नेकपालाई चैतमा महाधिवेशन सजिलो छैन
(काठमाडौं) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको २८ महिना पुगिसक्दा पनि पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । नेकपाको गतिविधि मूलतः नौ सदस्यीय सचिवालयका नाममा बालुवाटारको चौघराभित्र सीमित छ,। तर, आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने नेकपाले निर्णय गरेको छ ।
महाधिवशेनका लागि समय नै तोकेर पार्टी एकीकरणको बाँकी काम टुंग्याउन दिइएको म्याण्डेट सकिन अब केही दिन मात्र बाँकी छ । तथापि महासचिव विष्णुप्रसाद पौडेल भने यसपटक स्थायी कमिटीको म्याण्डेटअनुसार नै एकीकरण टुंगिनेमा विश्वस्त छन् ।
बिहीबार दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) र महासचिव -बिष्णुप्रसाद पौडेल) बीच भएको छलफलमा असोजभित्रै एकताको बाँकी काम टुंग्याउने सहमति जुटेकाले अविश्वास नगर्न महाचिव पौडेल आग्रह गर्छन् । तर, नेकपाकै नेताहरू महासचिव पौडेलको आग्रहप्रति आश्वस्त देखिँदैनन् ।
‘असोजभित्रै एकताको बाँकी काम टुंगिन सक्छ । तर, शीर्षनेताहरुले व्यक्तिगत र समूहगत स्वार्थ त्याग्नुपर्छ’, केन्द्रीय सदस्य ठाकुर गैरे भन्छन् । अहिलेसम्म एकीकरण प्रक्रिया नटंगिनुमा शीर्षनेताहरुमा जसरी पनि आफू बलियो हुने नियत नै समस्या बनेको गैरेको तर्क छ । हुन पनि २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी बीच एकता घोषणा हुँदा तीन महिनाभित्रै पार्टीको एकीकरण प्रक्रिया टुंग्याउने सहमति जुटेको थियो । त्यसैअनुसार, दुवै तर्फका तत्कालीन विभागीय प्रमुख र भूगोल इन्चार्जहरुलाई प्रतिवेदन ल्याउन भनियो । तर, त्यो निर्देशनअनुसार काम हुन सकेन ।
‘तत्कालीन विभागीय प्रमुखहरुलाई दिइएको निर्देशन कार्यान्वयन भएको भए, त्यही बेला एकीकरण प्रक्रिया टुंगिने थियो, तर त्यसो हुन दिइएन’, एक नेता भन्छन् । तल्लो कमिटी आफ्नो प्रतिकुल हुनेगरी एकीकरण नहोस् भन्ने मनसायले शीर्षनेताहरुको हस्तक्षेप नै अहिलेसम्म एकीकरण प्रक्रिया अधुरै रहनुको प्रमुख कारण देख्छन्, ती नेता ।
गएको माघ १५-१९ मा पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकले एकीकरण प्रक्रिया टुंग्याउन फेरि १५ दिनको समय दियो । तर, त्यो १५ दिन त्यसै खेर गयो । बरू साउन दोस्रो सातासम्म आइपुग्दा नेकपा एकीरण नटुंगिदै झण्डै विभाजित हुन पुग्यो । ‘विभाजनको संकट टरिसकेको छ । मनोवैज्ञानिक रुपमै एक हुने गरी अब एकताको महाधिवेशनमा केन्दि्रत हुनुको विकल्प छैन’, स्थायी कमिटी सदस्य किरण गुरुङ भन्छन् । त्यसका लागि भदौ २६ मा सम्पन्न स्थायी कमिटीको निर्देशन र भदौ २९ जारी अपानि (अन्तर पार्टी निर्देशिका) अनुसार, पार्टी काम अगाडि बढाउनुपर्ने उनी बताउँछन् । तर, स्थायी कमिटी सदस्य गुरुङले भनेजसरी पार्टी काम अगाडि बढ्न सकेको छैन ।
स्थायी कमिटी बैठकबाट समय नै तोकेर एकीकरण प्रक्रिया टुंग्याउने निर्णय गरेपछि असोज ४ को सचिवालय बैठकले मस्यौदा तयार पार्न दुई अध्यक्ष र महासचिवलाई दश दिनको समय दिएको थियो । तर, त्यो दश दिन पनि सकिएको छ । बल्ल, असोज २२ मा छलफल शुरू भएको छ । अर्थात्, एकीकरण प्रक्रिया टुंग्याउन समय नै तोकेर तेस्रो पटक दिइएको म्याण्डेटअनुसार, काम हुन नसके आगामी चैतमा महाधिवेशन संभव देखिन्न । स्थायी कमिटी सदस्य गणेश शाह, नेकपाभित्र विधि र प्रणालीको पालना नहुनुले महाधिवेशन हुनेमा आशंका बढेको बताउँछन् । ‘अहिलेकै सोंच र प्रवृत्तिले चैतमा महाधिवेशन हुने ९९ प्रतिशत सम्भावना छैन’, शाह भन्छन् ।