अस्पतालको लापरबाहीले आमा–बच्चाको ज्यान गएको आरोप
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी ब्यथा लागेर भर्ना भएकी एक महिलाको ज्यान गएको छ ।
गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको अस्पतालको लापरबाहीले ज्यान गएको मृतकका आफन्तले बताएका छन् । सुत्केरी ब्यथा लागेर बिहीबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेकी महिलाको बिहीबार साँझ मृत्यु भएको हो ।
मृतक गीताका देवर युद्ध पुरीले अस्पतालको लापरबाहीले बच्चा र आमा दुवैको ज्यान गएको बताए । साँझ ७ बजे बच्चाको मृत्यु भएको चिकित्सकले बताएपछि त्यसको २ घण्टा पछि आमाको पनि मृत्यु भएको चिकित्सकले आफन्तलाई जानाकारी गराएका थिए ।
‘नर्मल डेलिभरी हुन्छ भनेर राखियो । ४ बजे सम्म प्यासेन्ट ठिक थियो । तर पछि एकाएक आमा र बच्चाको ज्यान गयो । यस्तो कसरी हुन सक्छ,’ उनले भने ।
मृतक गीताको डा. अनुपा थापाले नियमित जाँच गर्दै आएकी थिइन् । चिकित्सकले कात्तिक ८ गते सुत्केरी हुने मिति तोके पनि यो बीचमा डा. थापासँग निरन्तर फलोअप गरेको र डा. थापाले बोलाएकै दिन १३ गते अस्पतालमा गीतालाई डेलिभरीका लागि ल्याइएको मृतकका आफन्त कमलराज गिरीले बताए ।
उनले बच्चा र आमाको मृत्यु अस्पताल र चिकित्सकको लापरबाहीले भएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन् । विरामीका आफन्तले निष्पक्ष छानविन र दोषि चिकित्सक माथि कारबाही नहुँदासम्म शव नबुझ्ने अडान राख्दै अस्पतालमा केहीबेर प्रदर्शन समेत गरेका थिए ।
यता अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले मध्यान्न भर्ना भएकी महिलाको सुत्केरी व्यथा लगाउने औषधि दिएपछि ५ बजे बच्चा निस्कने ५ वटा घर खुलेकाले नर्मल डेलिभरी हुने देखेर केही बेर छाडिएको बताए । पछि महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको र अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले अप्रेसन कक्षमा लैजाने क्रममा मृत्यु भएको उनले बताए ।