पशुपति क्षेत्रमा जथाभावी थ्रीडी बत्ती जडान हुँदै
पशुपति क्षेत्र विकास कोषको सपना छ- पशुपति मन्दिर क्षेत्रलाई आध्यात्मिक बत्तीले झलमल पार्ने । त्यसका लागि ‘थ्रीडी’ प्रकृतिको बत्तीले कैलाश डाँडाबाट गोल्डेन गेटक्षेत्रसम्म समेट्ने । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाको भनाइमा पशुपतिको ‘कोर एरिया’मा अध्यात्मिक बत्तीले झलमल पारिनेछ । त्यसका लागि झन्डै साढे ५ करोड खर्चिने तयारी भइरहेछ ।
विश्व सम्पदा सूचीमा पर्ने पशुपति क्षेत्रका नयाँ निर्माण होस् वा पुननिर्माण वा मर्मतसम्भार हरेक काममा पुरात्व विभागको स्वीकृत चाहिन्छ । पशुपति मन्दिर परिसरमा थ्रीडी प्रकृतिको बत्ती राख्नेबारे भने विभागलाई जानकारी समेत गराइएको छैन । कोषले टेण्डर आव्हान गरेर कामको जिम्मा लगाइसकेको छ ।
पशुपति क्षेत्रमा थ्रीडी प्रकृतिको बत्ती जडान गर्ने योजना कोष परिषद् बैठकबाट पारित भएको छैन । बत्ती जडान गर्ने विषयमा कोषका पदाधिकारीसमेत असहमत छन् । कार्ययोजनामाथि गम्भीर असहमति राखेर कोष सदस्य संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसम्म पनि पुगेका थिए । कोष स्रोतका अनुसार सदस्य भगवती देव र आशा पाण्डेले मन्त्री भट्टराईलाई भेटेर बत्ती जडानमा विकृत खेल भइरहेकाे सुनाएका थिए । तर, उनीहरूकाे पाेल सुनेलगत्तै मन्त्री भट्टराईले कार्यक्रम सदर गरिदिए ।
त्यसलगत्तै, कोषका सदस्यसचिव प्रदीप ढकाल र कार्यकारी निर्देशक घनश्याम खतिवडाले मिलेर छायादेवी इन्टरप्राइजेजलाई थ्रीडी प्रकृतिको बत्ती राख्ने जिम्मा दिइसकेका छन् । उनीहरूले मंसिरबाट काम सुरु गर्ने तयारी गरेका छन् । तर, कोषका पदाधिकारीले विभागसँग स्वीकृति लिने औचित्य नै देखेनन् ।
कार्यकारी निर्देशक घनश्याम खतिवडा बत्ती राख्ने सामान्य कुरा भएको र पुरातत्व विभागलाई सोध्दै हिँड्न आवश्यक नरहेको बताउँछन् । खतिवडा भन्छन्, 'बत्ती राख्ने कुरा विभागलाई सोध्नुपर्छ भन्ने नियम छैन ।' विराेधीहरू आफ्ना मान्छेले ठेक्का नपाएकाे झाेकमा बाेलिरहेकाे खतिवडाकाे दाबी छ ।
पशुपति क्षेत्रमा हुने हरेक निर्माणमा पुरात्व विभागको स्वीकृति र परामर्श आवश्यक पर्ने कोषका पूर्वसदस्यसचिव सुशील नाहट्टा बताउँछन् । 'विश्वसम्पदा सूचीमा रहेको पशुपति क्षेत्रमा निर्माण र पुननिर्माणलगायतका स-साना काम गर्न पनि विभागको स्वीकृति र परामर्श अनिवार्य हुन्छ', नाहट्टा भन्छन्, 'थ्रीडी बत्ती सामान्य खालको बत्ती नभएकाले विभागबाट स्वीकृति र परामर्श अनिवार्य हुन्छ ।'
पुरात्व विभागका महानिर्देशक दामोदर गौतम पनि सुशील नाहाट्टाको भनाइमा सहमत छन् । अर्थात् सम्पदा सूचीमा परेका हरेक क्षेत्रमा विभागको चासो मात्रै हुँदैन, हस्तक्षेपकारी भूमिका पनि हुन्छन् । जस्तो कि, रानीपोखरी पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले पुरातात्विक संरचना, स्वरुप र सामाग्रीमा तलबितल गर्न लागेका कारण विभागले हस्तक्षेप गर्नुपर्ने परेको थियो ।
पशुपति मन्दिर क्षेत्रमा थ्रीडी प्रकृतिको बत्ती जडान गर्ने योजनाबारे विभाग जानकार छैन । हुनलाई बत्ती जडान सामान्य लाग्न सक्छ तर ३० वाटको बत्ती जोड्ने कुरा र ३०० वाटको बत्ती जोड्ने कुरा फरक हुने नाहाट्टाको भनाइ छ ।
नाहाट्टाको भनाइमा सहमत देखिएका विभागका महानिर्देशक गौतम पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा पर्ने भएकोले हरेक नवनिर्माण, पुननिर्माण,मर्मतसम्भारमा विभागबाट स्वीकृति अनिवार्य हुने बताउँछन् । तर, अहिले कोषले पशुपतिको कोर एरियामा जडान गर्न लागेको थ्रीडी बत्तीबारे जानकारी नभएको गौतमको भनाइ छ । गौतमले भने, 'थ्रीडी बत्ती जडान गर्नेबारेमा मलाई जानकारी छैन, कस्तो खालको बत्ती हो? विभागमा जानकारी दिनै बाँकी हो कि !'
साभारः शिलापत्र