वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु
सोमबार वीरगन्जमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-१० निवासी ६० वर्षीय संक्रमित पुरुषको वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो।
उनको सोमबार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। उनलाई गत भदौं १४ गते अस्पताल भर्ना गरिएको थियो। सोही दिन पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
मृतक पुरुष मधुमेहका रोगी समेत रहेका थिए। अहिले मृतकको शवलाई अस्पतालमै राखिएको र भोलि नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने डा. चौरसियाले जनाए।
सोमबार वीरगन्ज हेल्थ केयर अस्पतालमै ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो। योसँगै वीरगन्जमा एकैदिन दुई जना संक्रमितको मृत्यु भएको छ।