स्वास्थ्य प्रोटोकल पालना गरी हिमाल आरोहणमा जान पाइने
(काठमाडौं) सरकारले १५ साउनबाट पर्यटन क्षेत्र खुला गरेको थियो । यसको मतलव पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनी तथा उद्योगले क्रमशः सेवा सुरु गर्न सक्ने प्रावधान थियो । ह्वात्तै बढेको कोरोना भाइरसको संक्रमणपछि पुनः कार्यालयहरु भने बन्द भएका छन् । तर, सरकारी कार्यालय खुलै छन् ।
सरकारले शरद ऋतुमा हिमालय आरोहण खुला गरेको छ । सोहीअनुसार कम्तिमा १८ जना विदेशी पर्वतारोही नेपाल आउने निश्चित भइसकेको छ । पर्यटन विभागका अनुसार अब स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गरी हिमाल आरोहणमा जान भने पाइन्छ । ‘नेपाली वा विदेशी, सबै नागरिकले हिमाल चढ्न अनुमति पाउनुहुन्छ,’ विभागकी निर्देशक मिरा आचार्यले भनिन् ।
आचार्यका अनुसार विभागमा अहिले स्वदेशी कम्पनी तथा विदेशी नागरिकबाट पनि उत्तिकै जिज्ञासा आउने गरेको छ । धेरैको चासो सहज यात्रा गर्न पाउने वा नपाउने भन्ने मै छ । सरकारले भर्खरै अन्तर्राष्ट्रिय नियमित उडान खोलेको छ । त्यो पनि नेपाली नागरिक र सीमित विदेशी नागरिकका लागि मात्र हो । तत्काल पर्यटक नेपाल आउन पाउने गरी नेपाल खुला भइसकेको छैन ।
‘पर्यटकलाई नेपालसम्म ल्याउने वातावरण हाम्रो हातमा छैन,’ आचार्य भन्छिन्, ‘तर, नेपाल आएका विदेशी र नेपाली नागरिकले हिमाल चढ्न चाहनु भयो भने हामी अनुमति दिन्छौं ।’
नेपालमा वसन्त ऋतुपछि शरद ऋतुमा पर्वतारोहणका लागि धेरै पर्यटक आउने गर्छन् । यो सिजन सगरमाथाबाहेकका हिमालमा बढी भीड हुन्छ । शरद ऋतुमा हिमाल चढ्दा बसन्त ऋतुको तुलनामा आधा मात्र रोयल्टी लाग्ने गर्छ ।
सगरमाथा आरोहण गर्न एक विदेशीले वसन्त ऋतुमा ११ हजार डलर रोयल्टी तिर्नुपर्छ, शरदमा ५५ सय डलर तिर्दा मात्र पुग्छ ।