पर्यटकलाई अनअराइभल भिसा, सात दिन क्वारेन्टिन अनिवार्य
(काठमाडौं) सरकारले जारी सिजनका लागि पदयात्रा र पर्वतारोहण खुला गरेको छ । त्यसक्रममा नेपाल आउने पर्यटकका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड तोकेको छ ।
पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने छन् ।
यसको व्यवस्थापन अध्यागमन विभागले गर्नेछ । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिषा उपलब्ध नहुने अवस्था, समुहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।
उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ । पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेका पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने शर्त राखिएको छ ।