स्थिति नियन्त्रणका लागि सयौँ नेशनल गार्ड परिचालित
(वासिङटन) सोमबार अमेरिकाको विस्कोन्सिन राज्यस्थित केनोशा सहरमा एक अश्वेत पुरुषमाथि प्रहरीले ७ राउन्ड गोली प्रहार गरेको छ। आफ्ना ३ छोराछोरीसहित कारमा सवार याकुब ब्लेकलाई प्रहरीले गोली हानेको हो।
२९ वर्षीय याकुब कारको ढोका खोलेर भित्र पस्नै लाग्दा प्रहरीले गन्जीमा समातेर पछाडी ढाडमा गोली हानेको थियो। उनलाई गोली प्रहार गर्दा उनका ३, ५ र ८ वर्षीय छोराछोरी कारभित्रै रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। गोली हान्नुको कारण भने स्पष्ट पारिएको छैन। ब्लेकको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ। उनको स्वास्थ्य स्थिति स्थिर रहेको छ।
घटनासँगै सम्भावित हिंसा नियन्त्रणका लागि १२५ नेशनल गार्ड परिचालित गरिएको कनोशाका मेयर जोन अन्तरामिनले जनाएका छन्। नेशनल गार्डले स्थानीय सुरक्षाकर्मीलाई सहयोग गर्ने बताइएको छ। यसैबीच सोमबार कनोशाको अदालतअघि प्रदर्शन भएको छ। त्यस नजिकै रहेको एक फर्निचर पसल तथा ट्रकमा प्रदर्शनकारीले आगजनी गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। त्यस स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
यसअघि गत मे २५ मा अफ्रिकन मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको पनि प्रहरीले नियन्त्रणमा लिने क्रममा ज्यान गएको थियो। त्यसको विरोधमा अमेरिकाभर व्यापक प्रदर्शन भएको थियो।