माधव नेपालको सचिवालय : कार्यदलको प्रतिवेदनबारे धारणा सचिवालय बैठकमै आउँछ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि नजनाएको उनको सचिवालयले स्पष्ट पारेको छ।
कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता नेपालको टिप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको समाचारको उनको सचिवालयले खण्डन समेत गरेको छ।
'नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’प्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन,'वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले फेसबुकमा लेखेका छन्,'अझ दु:खद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहाँहरूले चलाएका कतिपय मिडियामा कपोकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टि लिने नियोजित कोशिस भएको छ।'
विगत लामो समयदेखि पार्टीमा विधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई उठाउँदै आएको भन्दै गौतमले अनौपचारिक परामर्शको आधारमा गठन गरी सचिवालय बैठकबाट अनुमोदन गर्ने माग वरिष्ठ नेता नेपाल लगायतले गरेको उल्लेख गरेका छन्।
कार्यदलको प्रतिवेदनमाथि सचिवालयको बैठकमै टिप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवम् अफवाह नपर्न समेत गौतमले अनुरोध गरेका छन्।