न्युजिल्यान्डकी प्रधानमन्त्रीले कोरोनाका कारण आम निर्वाचन सारिन्
न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले सेप्टेम्बर १९ मा तय भएको आम निर्वाचन एक महिना पर सारेकी छन्। कोरोनाभाइरसका कारण अकल्यान्डमा लकडाउन जारी रहेकाले प्रधानमन्त्री अर्डेनले सोमबार आमनिर्वाचन अक्टोबर १७ का लागि सारेकी हुन्।
टापु राष्ट्र न्युजिल्यान्डमा पछिल्लो समय १०२ दिनसम्म कोरोनाभाइरसका एउटा पनि बिरामी भेटिएका थिएनन्। तर केहीदिन देखि अकल्यान्डमा संक्रमण ह्वात्तै बढेपछि त्यहाँका १७ लाख मानिस अहिले लकडाउनमा छन्। अकल्यान्डमा अगस्ट २६ सम्मका लागि लकडाउन गरिएको छ भने अन्य सहरहरूमा पनि भौतिक दूरी र अन्य मापदण्ड लागु गरिएको छ।
राजनीतिक दलहरूले यस्तो बेलामा चुनावी अभियान गर्न नसकिने भन्दै अर्डेनमाथि चुनाव सार्न दबाब दिइरहेका थिए।
कोरोनाभाइरसको नियन्त्रणमा अन्य देशको तुलनामा न्युजिल्यान्डले अहिलेसम्म निकै प्रभावकारी काम गरेको छ। पछिल्लो समय गरिएका सर्वेक्षणहरूमा अर्डेनको लेबर पार्टी निकै बलियो देखिएको छ। त्यसैले उनले अब फेरि चुनाव सार्ने छैनन् भन्ने धेरैको अनुमान छ।
'हामी सबै एउटै डुंगामा छौं र हामी सबैले एउटै वातावरणमा चुनावी अभियान गर्नुपरेको छ,' अर्डेनले भनेकी छन्।
उनका विपक्षीहरूले दैनिक टेलिभिजनमा सम्बोधन गरेर अर्डेनले कोरोनालाई आफ्नो पक्षमा समर्थन बढाउने माध्यम बनाएको आरोप लगाउँदै आएका छन्।