अमेरिकामा संक्रमितकाे संख्या ५० लाख र भारतमा २० लाख नाघ्याे
संयुक्त राज्य अमेरिका र भारतमा एकै दिन एक लाखभन्दा बढी काेराेना संक्रमित भेटिएका छन् । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार अमेरिकामा ५८ हजार १ सय ५ जना संक्रमित भेटिएका छन् भने भारतमा बिहीबार ६२ हजार १ सय ७० जना संक्रमित भेटिएका छन् ।
याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ३१ हजार ६ सय ७३ पुगेकाे छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ लाख ६२ हजार ७ सय ८० पुगेकाे छ । जसमा १ हजार ७ सय ७९ जनाकाे भने पछिल्लाे २४ घण्टामा मात्रै भएकाे छ । अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेकाे छ । केही समय अगाडि अमेरिकामा काेराेना भाइसका केसहरूकाे केही कम देखिएकाे थियाे तर गत हप्ताबाट फेरी काेराेनाका केसहरू बढ्दै गइरहेकाे छ ।
कुल संक्रमितमध्ये २५ लाख ५९ हजार ८६२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी २२ लाख ९२ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १८ हजार ३ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ । सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य क्यालिफाेर्नियमा भएकाे छ । त्यहाँ अहिलेसम्म ५ लाख ४१ हजार १९० जना संक्रमित भएका छन् भने १० हजार २० जनाकाे मृत्यु भएकाे छ । बिहीबार मात्र त्यहाँ ८ हजार ४ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् भने १ सय ४८ जनाकाे मृत्यु भएकाे छ ।
अर्को बढी प्रभावित राज्य फ्लाेरिडा पनि ५ लाख १० हजार ३८९ जना संक्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ७ हजार ७ सय ४७ जनाकाे मृत्यु भएकाे छ । बिहीबार मात्रै त्यहाँ ७ हजार ६ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् भने १२० जनाकाे मृत्यु भएकाे छ । अमेरिकाकाे टक्सस र न्यूयोर्कमा पनि काेराेनाले निकै भयवाह बनाएकाे छ । अहिलेसम्म टक्सस ४ लाख ८९ हजार ७३१ संक्रमित भेटिएका छन् भने ८ हजार ११६ जनाकाे मृत्यु भएकाे छ । न्यूयोर्कमामा अहिलेसम्म ४ लाख ४८ हजार १६८ जना संक्रमित भेटिएका छन् भने ३२ हजार ८ सय १७ जनाकाे मृत्यु भएकाे छ ।
यता एसियालीकै महामारी केन्द भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ६२ हजार १ सय ७० जना नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।
यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेकाे छ । मृत्यु हुनेकाे संख्या भने ४१ हजार ६ सय ३८ पुगेकाे छ । बिहीबार मात्रै त्यहाँ ८ सय ९९ जनाकाे मृत्यु भएकाे छ ।
अहिले भातरमा ६ लाख ६ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १३ लाख ७७ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् । भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।