ट्राभल हिस्ट्री नभएका फर्निचर पसलेमा संक्रमण
(काठमाडौं) लकडाउनभर उनी कतै गएका थिएनन्। गाउँसम्म पनि नगई बसेका जोरपाटीका फर्निचर व्यवसायी उनी लकडाउन केही खुकुलो होला, अनि फर्निचर पसल खोल्ने आशमा बसेका थिए। कारखाना घरछेउमै भएकाले उनी यो समय सदुपयोग पनि गरिरहेका थिए। उनको पसल र कारखाना छुट्टाछुट्टै स्थानमा छ। कारखानामा नै लकडाउनमा पुराना अर्डरका सामान सामग्री बनाउने काम जारी राखे।
साउन ७ गतेपछि सरकारले लकडाउन खोल्ने निर्णय गर्यो। उनले पनि पसल खोले। चार महिनासम्म बन्द गर्दा आर्थिक रुपमा निकै समस्या परेको थियो। त्यसका लागि उनले लकडाउन अन्त्य भएपछि लगालग व्यापार हुने विश्वास गरेका थिए। त्यही भएर पनि लकडाउन अवधिमा उनले काम छोडेनन्। यसै पनि केही थान फर्निचर अर्डरको काम त उनले सक्नै पाएका थिएनन्। ती सामान बनाउनका लागि उनले लकडाउनलाई प्रयोग गरेका थिए।
सल सञ्चालन गरिरहेका उनलाई साउन दोस्रो साता ज्वरो आयो। सामान्य मौसमी ज्वरो होला भनेर उनले उति वास्ता पनि गरेनन्। रुघाखोकी पनि थपियो। अन्य लक्षण पनि देखिन थाले। शंका लागेर उनले कोरोना परिक्षण गराए।
नगरपालिकाले शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरिहेको थियो। स्वाब दिए। तीन दिनपछि पोजेटिभ भएको रिपोर्ट आयो। उनको परिवारका सदस्यहरूको परीक्षण गरियो। परिवारका ९ जनामै कोरोना संक्रमण भएकभो पुष्टि भयो। लगत्तै नगरले उनको सम्पर्कमा आएका अन्यको पनि खोजी सुरु गर्यो। जोरपाटी क्षेत्र सिल गरियो। सम्पर्कमा पुगेकाहरूको परीक्षण भयो।
गोकर्णेश्वर नगरपालिका-५ मा पर्ने जोरपाटी चोक क्षेत्रमा अहिलेसम्म ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नगरपालिकी उपमेयर शान्ति नेपालका अनुसार नगरमा हाल (बिहीबार)सम्म नगरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ। यसरी संक्रमित भएकाहरुलाई नगरले लक्षण भएकालाई अस्पतालमा र नभएकालाई होम आइसोलेनमा राख्ने गरेको उनले बताइन्।
जोरपाटीपछि नगरको ६ नम्बर वडाको नयाँबस्तीमा क्षेत्रमा २५ जना संक्रमित छन्। नगरभित्र बैंकमा काम गर्ने एक जनालाई लक्षणसहितको संक्रमण भएको थियो। उनलाई ह्याम्स अस्पतालमा प्लाज्मा दिइएको र हाल सुधार भइरहेको उपमेयर नेपालले बताइन्। उनको अवस्था गम्भीर बन्दै गएपछि नेपाल मेडिकल कलेजबाट ह्याम्समा सारिएको हो। प्लाज्मा दाता खोजेर उनको उपचार गरिएको छ।