धोनीलाई आउँदो चुनावमा उठ्न बिजेपी नेताको प्रस्ताव
भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणापछि विभिन्न प्रतिक्रिया आइरहेका छन्।
धेरैले धोनीले भारतीय क्रिकेट टिमका लागि दिएको योगदानको स्मरण गर्दै धन्यवाद व्यक्त गरेका छन्। यस्तोमा भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्डयम स्वामीले भने फरक प्रतिक्रिया दिएका छन्। धोनीले क्रिकेटमार्फत दिएको योगदान अब सामाजिक जीवनमा पनि चाहिएको स्वामीको प्रतिक्रिया छ।
'धोनीले क्रिकेटबाट संन्यास लिएका हुन् अरु कुराबाट होइन। अप्ठारासँग जुझ्न सक्ने र प्रेरणादायी नेतृत्व गर्न सक्ने उनको क्षमता अब सामाजिक जीवनमा पनि चाहिएको छ। उनी लोकसभा २०२४ को आम निर्वाचनमा लड्नु पर्छ,' स्वामीले ट्विटरमा पोस्ट गरेका छन्।
यसअघि भारतका पूर्व ब्याट्सम्यान गौतम गाम्भिरलाई भजपाले दिल्लीबाट लोकसभाको टिकट दिएको थियो। गाम्भिरले निर्वाचनमा भारी अन्तरले जित हात पारेका थिए।