बुटवल उपमहानगरका ३ अधिकृतसहित १६ जनामा कोरोना पुष्टि
बुटवल उपमहानगरपालिकाका तीन अधिकृतसहित बुटवलमा आइतबार १६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार उपमहानगरपालिकाका दुई जना शाखा प्रमुख हुन् भने र एकजना अधिकृतस्तरका सहायक शाखा प्रमुख हुन्। त्यस्तै आइतबार कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नम्बर ११ कालिकानगर र देवीनगरका रहेको सिंहले जानकारी दिए। देवीनगर र कालिकानगरका १३ जना संक्रमित पनि पारिवारिक नातेदार रहेको उपमहानगरपालिकाले जनाएको छ।
बुटवलमा पहिलो पटक यति धेरै संक्रमित थपिएको सिंहले बताए।
यो संख्यासँगै बुटवलमा कुल संक्रमितको संख्या ८० पुगेको छ। तीमध्ये ५६ जना सक्रिय संक्रमित छन् भने २४ जना उपचारपछि निको भएर घर फर्किएको उपमहानगरपालिकाले जनाएको छ। १९ वटा वडा रहेको बुटवलमा वडा नं. ११ का १८ जना संक्रमित छन्। यसैबीच कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुटवल उपमहानगरपालिकाका स्वास्थ्यबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।
उपमहानगरपालिकाले सूचना जारी गर्दै उपमहानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा अर्को सूचना नआउँदासम्म बन्द गरिएको जनाएको हो।
कोरोना नियन्त्रण तथा व्यवस्थापनको लागि सक्रिय रूपमा लागेका कर्मचारीमा संक्रमण पुष्टि भएपछि उनीहरूसँगको नियमित सम्पर्कमा आएका कर्मचारी, सेवाग्राही तथा परिवारका सदस्यको समेत स्वाब संकलन गरिने उपमहानगरपालिकाले जनाएको छ।