कोभिडको खोपले सुन बजारमा उतार चढाव
(काठमाडौं) अन्तर्राष्ट्रिय बजारमा सुन २२ साउनमा प्रतिऔंश २ हजार ६३.६८ अमेरिकी डलरमा किनबेच भयो । यो मूल्य हालसम्मको सर्वाधिक हो ।
नेपालमा त्यसको भोलिपल्ट सुनको मुल्य प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ पुग्यो । सुनको कारोबार मापन गर्ने अमेरिकी वालस्ट्रिट मार्केटको साउन २३ गते शुक्रबार राति १२ बजेको मूल्यअनुसार नेपाली बजारमा तोकिएको सुनको भाउ अहिलेसम्मकै धेरै थियो ।
गत वर्षको साउनदेखि निरन्तर बढेको सुनको भाउ यो उचाईमा पुग्दा नेपाली सुन बजार भने कारोबार शून्यको अवस्थामा रह्यो । सुनको भाउ अझ चुलिने शंका भइरहेका बेला बिस्तारै भाउ ओरालो लाग्यो ।
साउन २३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश २८ डलर घटेर प्रतिऔंश २ हजार ३५ डलर ९९ सेन्टमा झर्यो भने त्यसको भोलिपल्ट स्थिर रह्यो । २५ साउनमा २ हजार २७ डलर ८ सेन्टमा आइपुग्यो र २६ गते एकै दिनमा ठूलो गिरावट आएर सुनको मूल्य प्रतिऔंश १९ सय १२ डलर ४३ सेन्टमा झर्यो । त्यस दिन नेपाली बजारमा सुनको भाउ तोलामै ६ हजार २०० रुपैयाँले घटेर ९५ हजार चार सय कायम भयो ।
त्यसयता फेरि सुनको भाउ बढ्ने क्रममा छ ।
कोभिड– १९ का कारण विश्व अर्थतन्त्र यतिबेला संकटपूर्ण अवस्थामा छ । यही बेला दुई विशाल अर्थतन्त्र अमेरिका र चीनको व्यापार युद्ध पनि उत्कर्षमा छ ।
यी दुई देश एक अर्काको उत्पादनमा व्यापार कर बढाउनेदेखि प्रतिबन्ध गर्नेसम्मको लडाइँमा लाग्दाको मुल्य विश्व अर्थतन्त्रले चुकाउन परिरहेको छ । यसले गर्दा नाफाका लागि गरिने लगानीका क्षेत्रहरु– कच्चा तेल, सेयर बजार तथा नगद निक्षेपहरु असुरक्षित बनेको छ । ठूला रिजर्ब बैंकहरुले ब्याजदर कटौती गर्दा लगानीकर्ताले लगानीको सुरक्षित ठाउँ सुन नै देखेको बिजनेस इन्साइडरले लेखेको छ ।
युद्ध, महामारीलगायतको अवस्थामा विश्वमा असुरक्षा बढ्ने बित्तिकै सुनमा लगानी बढ्ने विश्वास गरिन्छ । यसपटक पनि कोरोना महामारीका कारण सुनको उत्खनन् हुन नसक्नु र सुनमा गरिने लगानी बढ्दा मूल्य आकासिएको बिजनेस इन्साइडरको विश्लेषण छ ।
नेपाली बजारमा सुनको प्रतितोला मूल्य एक लाख ५० हजारसम्म पुग्ने आंकलन भइरहेका बेला एकाएक मूल्य ओरोलो लागेपछि अब सुन बजारको भविष्य के हुन्छ भन्ने प्रश्न खडा भएको छ ।
त्यसो त भाउ अझै घट्ने अनुमानमा सुनको पुराना गहना बिक्री गर्नेको संख्या बढेको बताइन्छ, तर भाउ बढ्न थालिसकेको छ ।