रामेछापका थप ५ जनामा कोरोना पुष्टि
(काठमाडौं) रामेछापका थप ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। धुलिखेलमा गरिएको परीक्षणमा विदेशबाट फर्किएर सेलेघाटको होल्डिङ सेन्टरमा बसेकामध्ये ४ जनालाई शनिबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए।
‘सेलेघाटको होल्डिङ सेन्टरमा रहेका मन्थली नगरपालिकाका २३, २६, २८ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।’ उनले भने, ‘अर्का एक बिरामी २/३ महिनादेखि नै काठमाडौं बस्दै आएका रहेछन्, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)बाटै कन्ट्याक ट्रेसिङको काम हुन्छ, बिरामीसँग सम्पर्क भएर उतै जिम्मा लगाइसकेका छौं।’
कर्णले अहिले जिल्ला अस्पतालमा रामेछापमा ४ जनाको उपचार भइरहेको बताए। नयाँ संक्रमित थपिएसँगै जिल्लामा ८ जनाको उपचार भइरहेको छ। उनले कोरोना पुष्टि भएकामध्ये २३ जना उपचारपछि निको भएर घर फर्किसकेका बताए।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ४ जना पुरुष र वीर अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी ५ जनालाई कोरोना पुष्टि भएको बताएका थिए।