सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो, अन्यकाे खाेजी जारी
(सिन्धुपाल्चाेक) जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान खसेकाे उक्त पहिराेमा पुरिएकाे अवस्थामा शुक्रबार ११ जनाको शव भेटिएको थियो ।
यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।
लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।