राति १२ बजेदेखि बिहान ९ बजेसम्म कालीमाटी र बल्खु तरकारी बजार खुल्ने
(काठमाडौं) कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो ।
किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयावधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।
सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा मासु, फलफूल, दुग्ध डेरी र खाद्यान्न पसल दिनभरि सञ्चालन गर्न दिने बताएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाका अध्यक्ष गीता आचार्यले बताए । तर चार बजे आएको कोभिड परीक्षण नतिजापछि कालीमाटी लगायतको क्षेत्रमा संक्रमित थपिएको भन्दै दिनभरि बजार खुलाउन नसकिने जानकारी प्रहरीबाट प्राप्त भएको उनले सुनाए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको कालीमाटी प्रहरी वृतका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।