बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि
(नेपालगन्ज) नेपालगन्ज मेडिकल कलेजका दुई चिकित्सकसहित बाँकेमा थप १५ जना कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार नेपालगन्जका दुई जना चिकित्सक, ३ प्रहरी र सर्वसाधारणसहित १५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना देखिएको थियो । तीमध्ये बाँकेका १५ जना हुन् । चिकित्सक र प्रहरीसमेत गरी १२ जना नेपालगन्जका, ३ जना डुडुवा गाउँपालिकाका रहेका छन् । जिल्लामा कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक निषेधाज्ञा जारी गरेको छ ।