उपत्यकामा शनिबार ६२ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा शनिबार ६२ कोरोना संक्रमित थपिएका छन्।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा ५६, भक्तपुरमा ३ र ललितपुरमा ३ जना कोरोना संक्रमित थपिएका जानकारी दिएका हुन्।
आज कोरोनाभाइरसका तीन सय ७८ जना संक्रमित थपिएका छन्।
विगत २४ घण्टामा जनामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थप भएको उनले जानकारी दिए। अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ।
क्वारेन्टिनमा दश हजार सात सय ९२ जना छन्। विगत २४ घण्टामा चार सय ९९ जना कोरोना निको भएर घर फर्किएको डाक्टर गौतमले जानकारी दिए। अहिलेसम्म कोरोना निको भएर १६ हजार तीन सय १३ जना घर फर्किसकेका छन्।
कोरोनाबाट नेपालमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ।