अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघ्यो
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेकाे संख्या १ लाख ५० हजार नाघेकाे छ । मंगलबार बिहानसम्म त्यहाँ काेराेना संक्रमणका कारण १ लाख ५० हजार ४४४ जनाले ज्यान गुमाएकाे वर्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।
त्यहाँ संक्रमित हुनेकाे दैनिक संख्या पनि घट्न सकेकाे छैन । साेमबार मात्रै अमेरिकामा एकै दिन ६१ हजारबढी नयाँ संक्रमित फेला परेका छन् । वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा साेमबार ६१ हजार ५७१ जनामा संक्रमण पुष्टि भएकाे छ । यससँगै त्यहाँ कुल संक्रमित संख्या ४४ लाख ३३ हजार ४१० पुगेकाे छ ।
त्यहाँ भाइरस संक्रमणका कारण साेमबार मात्रै ५९६ जनाकाे ज्यान गएकाे छ । तर त्यहाँ निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । हालसम्म २१ लाख ३६ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (साेमबार) मात्रै त्यहाँ ४६ हजार ४७४ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै २१ लाख ४६ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।
यी दृश्यहरूबाट पनि अमेरिकामा संक्रमण तत्काल नियन्त्रणमा नअाउने देखिएकाे छ । याे संकट कहिलसम्म रहन्छ भन्ने पनि अन्याैलकाे विषय बनेकाे छ ।
उता ब्राजिलमा पनि काेराेना संक्रमण घटेकाे छैन । त्यहाँ साेमबार एकै दिन २३ हजार ५८९ जनामा संक्रमण पुष्टि भएकाे छ । यससँगै त्यहाँ कुल संक्रमित संख्या २४ लाख ४३ हजार नाघेकाे छ भने भाइरस संक्रमणका कारण कुल ८७ हजार ६७९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ साेमबार मात्र ६२७ जनाले ज्यान गुमाएका छन् ।