चक्रपथको दोस्रोखण्ड विस्तारको काम थाल्न ढिलाइ
(काठमाडौं) चक्रपथको कलंकी-महाराजगञ्ज-धोवीखोला खण्ड विस्तारको काम थाल्न ढिलाइ भएको छ । यो खण्डलाई ८ लेनमा विस्तार चीन सरकारले आफ्नै खर्चमा गर्दैछ ।
कोभिड-१९को महामारीका कारण प्राविधिक तयारीका काम सकाउन चिनियाँ टोली नेपाल आउन पाएको छैन । विभागले पनि सडक विस्तारका लागि गर्नुपर्ने पूर्वतयारी सकाएको छैन । सरकारले यो खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेपनि ‘साइट क्लियर’ पनि भईसकेको छैन । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार कलंकीदेखि गोंगबुसम्मको खण्डमा पर्ने रुख पोल र संरचनाहरु हटाउने काम लगभग सकिएको छ ।
‘एउटा चैत्य र प्राधिकरणका दुई वटा टावरहरु हटाउन बाँकी छ,’ उनले भने,’महानगरपालिका र नेपाल विद्युत प्राधिकरणसँग त्यसलाई हटाउन पहल गरेका छौं, उहाँहरुले बाँकी काम हुन्छ भनिसक्नुभएको छ ।’
गोंगबुको आकाशे पुल पनि हटाउने तयारी गरिएको छ । यी काम सकिएपछि चिनियाँ अधिकारीलाई काम अघि बढाउन औपचारिक आग्रह गर्ने योजना रहेको महानिर्देशक शर्माले बताए । ‘गोंगबुसम्मको साइट खाली भएपछि चीनले काम थाल्छ भन्ने अपेक्षा गरेका छौं, नियमित फ्लाइट सुरु भएपछि चिनियाँ टोली आउँछ र निर्माणको कमा थाल्न सकिन्छ ,’ उनी भन्छन् ।