दुर्लभ पहेंलो कछुवा भारतमा भेटियो
(काठमाडौँ) भारतमा एक जना किशानले पहेंलो रंगको कछुवा फेला पारेका छन् । उडिसा राज्यको बाल्ससोर जिल्लाको सुजानपुर गाउँस्थित खेतमा काम गर्ने क्रममा बाशुदेव महापात्रा नाम गरेका कृषकले पहेंलो रंगको उक्त दुर्लभ कछुवा फेला पारेका हुन् ।
गत आइतबार उनले फेला पारेको उक्त कछुवा मंगलबार त्यहाँको वन अधिकारीहरुलाई हस्तान्तरण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जैविक विविधता संरक्षण संघका कार्यकारी निर्देशक सिद्धार्थ पातीले यो पूरै पहेंलो रंगको कछुवा पहिलो पटक देखिएको सीएननलाई बताएका छन् ।
यो कछुवा इन्डियन फ्लापसेल कछुवा प्रजातिको हो । यो कछुवा दक्षिण एसियाका धेरै ठाउँमा पाइन्छ । यो प्रजातिको कछुवालाई नेपालमा 'ढकनी नरम खबटे कछुवा'ले पनि चिनिन्छ ।
विज्ञहरुले कछुवाको रंग पहेंलो हुनुको कारण 'अल्बनिजम' भनेका छन् । पातीले सीएननलाई शरिरमा टाइरोसिन पिगमेन्टको कमी हुँदा वा नहँदा यस्तो अवस्था देखा परेको बताएका छन् । कतिपय अवस्थामा टाइरोसिन पिगमेन्टको कमी हुँदा वा जीन सिक्वेन्समा हुने उत्परिवर्तनका कारण पनि यस्तो अवस्था देखा पर्ने विज्ञहरुले बताएका छन् ।
उद्धार गरिएको उक्त कछुवालाई बाल्सोर जिल्लामै छाडिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त कछुवालाई उसैको पुरानै बासस्थानमा छाडिएको पातीले सीएननलाई बताएका छन् । भेटिएको उक्त कछुवा डेढदेखि दुई वर्षको उमेरको रहेको अधिकारीले अनुमान गरेका छन् ।
भारतको उडिसा राज्यमा कछुवा र गँगटाका विभिन्न प्रजातिहरु भेटिने गरेका छन् । टाइरोसिन पिगमेन्टको कमीका कारणले कछुवाको प्राकृतिक रंग नहुँदा विभिन्न रंगहरुमा देखा पर्छन् । सीएननका अनुसार भारतमा यसअघि पनि अल्बिनो कछुवा फेला परेको थियो ।
सन् २०१६मा पनि अस्ट्रेलियाको एक तटीय क्षेत्रमा पनि दुर्लभ अल्बिनो कछुवा भेटिएको थियो ।