प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना देखियो
नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रवक्ता डिआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनले संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेको जनाए। अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लाने तयारी गरिएको छ।
आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।
प्रवक्ता शाही थपिएका संक्रमितहरूको पनि कन्ट्याक्ट ट्रेसिङको काम थालिएको बताए।
'उहाँहरूको परिवारको विवरण लिने र उहाँहरू बाहिर कहाँ-कहाँ जानुभयो भन्ने कुराको ट्रेसिङ सुरु गरेका छौं,' उनले भने।