खुलाउन समय लाग्ने
अविरल वर्षा पछिको बाढी-पहिरोले पृथ्वी राजमार्गका ठाउँ-ठाउँमा सडक अवरूद्ध भएको छ।
धादिङ र चितवनको सीमानामा रहेको मौवा खोला पुलको एकतर्फ करिब पाँच मिटर सडक बगाएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार अवरूद्ध सडक खुलाउने प्रयास भए पनि वर्षा नरोकिएका कारण समस्या छ।
मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला गरी दुई सयभन्दा बढी पहिरो खसेका छन्।मौवाखोलाको पुल मर्मत कसरी गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ। यो सडक डिभिजन सडक कार्यालय भरतपुरले मर्मत गर्ने हो। कार्यालयका प्रमुख ईञ्जिनियर कृष्णराज अधिकारीका अनुसार आज पनि राजमार्गमा पहिरो खसेको छ।
जोगिमारामा ठूलो पहिरो खसेको उनले बताए। मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुंगा भरेर सडक सुचारू गर्ने तयारी रहेको उनले जानकारी दिए।
‘नुवाकोटबाट जाली मगाइएको छ। बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ। बेलिब्रिजभन्दा यो सहज र छिटो हुन्छ,’ उनले भने। सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए।
‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन। काम थालेपछि दुई दिन हामीलाई लाग्छ,’ उनले भने।
नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन। डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन सुरू गरिनेछ।
काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले बताए। पृथ्वी राजमार्गकै तनहुँ खण्डको आँबुखैरेनी ऐनापहरा, बिमलनगर, डुम्रे, नाहालालगायतमा सडक अवरूद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
‘राजमार्गको सात/आठ ठाउँमा सडक अवरूद्ध छ। कतै सडक भासिएको छ कतै पहिरोले पुरिएको छ,’ उनले भने।