दुई अध्यक्ष निचोडमा पुगिसक्नुभएको छैन, प्रयास जारी छ: विष्णु पौडेल
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्म ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घन्टा भएको छलफलमा पार्टीमा देखिएका विवादबारे कुरा भए पनि कुनै सहमति भने हुन सकेन। प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड साढे ११ बजे बालुवाटार पुगेका थिए भने सवा २ बजेसम्म बसेका थिए। दुई अध्यक्षको कुराकानी सौहार्दपूर्ण वातावरणमा भए पनि निचोड निस्कन बाँकी रहेको नेकपा महासचिव विष्णु पौडेलले सेतोपाटीलाई बताए।
'आज पनि दुई अध्यक्षबीच कुराकानी थियो। कुराकानी सौहार्दपूर्ण वातावरणमा भयो। कुराकानी जारी छ,' उनले भने, 'भोलि पनि कुराकानी हुन्छ। उहाँहरू निचोडमा पुगिसक्नुभएको छैन। सहमतिका लागि प्रयास जारी छ।'