मेलम्चीको सुरुङ फुट्दा बेपत्ता दुईजना अझै भेटिएनन्
(सिन्धुपाल्चोक) परीक्षणको क्रममा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुटेपछि बेपत्ता भएका आयोजनामा कार्यरत दुईजना २४ घण्टादेखि बेपत्ता छन् ।
आयोजनाको सुरुङ परीक्षणका क्रममा गेट फुटेपछि बाहिर निस्केको पानीको बहावले बगाएर बेपत्ता भएका आयोजनाको ठेकेदार कम्पनीका इन्जिनियर र सवारी चालक अझै नभेटिएका हुन् ।
आयोजनाको सुरुङको ग्याल्थुम अडिटबाट अम्बाथानस्थित मुहान जोड्ने खण्डको १७ नम्बरको गेट मंगलबार दिउँसो करिब साढे १२ बजे फुट्दा सुरुङबाट निस्केको पानीले गाडीसहित बगाउँदा निर्माण कम्पनी सिनो हाइड्रोमा कार्यरत इन्जिनियर २६ वर्षीय सतिश गोइत र उनी सवार गाडी चालक राधाकृष्ण थापा बगेर बेपत्ता भएका हुन् ।
दुर्घटना भएदेखि नै खोजी कार्यलाई तीब्रता दिए पनि बेपत्ता अझै नभेटिएको इलाका प्रहरी कार्यालय हेलम्बुका सई सन्तोष बुढाथोकीले जानकारी दिए ।
सुरुङमा पानी पठाएपछि प्रत्येक घण्टा सुरुङको परीक्षण गर्ने नियमित काममा गएका इन्जिनियर गोइत सवार बा २ झ ८७६४ नम्बरको गाडी गेट नजिक आएपछि फुटेर आएको पानीले गाडीसहित बगाएर मेलम्ची खोलामा पुर्याएको थियो । पानीले चालक र सवार दुबै जनालाई बेपत्ता बनाएको हो ।
बुढाथोकीका अनुसार खोलाले बगाएको गाडी भने केही तल मंगलबार नै भेटिएको छ । आयोजनाको मुहानबाट २१ किलोमिटर तल मेलम्ची बजार नजिक मानिस बगाएको देखिएको अपुष्ट खबर आए पनि बेपत्ता नभेटिएको सई बुढाथोकी बताउँछन् । बेपत्ताहरुको खोजीका लागि आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मंगलबार दिउँसोदेखि सक्रिय छ । बेपत्ता भन्दा पछाडी रहेका इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बादोर्जे तामाङ भने गेट फुटेर पानी बाहिर निस्केपछि भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्न भ्याएका दुबै घाइते भएका छन् ।
उनीहरुको मेलम्ची स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडांै पठाइएको प्रहरीले जनाएको छ । एक्कासी ठूलो आवाजसहित सुरुङको गेट फुटेपछि आएको पानीले आफूहरुलाई बगाएको घाइतेले बताएका छन् ।
आयोजनाले मजबुत निर्माणमा ध्यान नदिई सुरुङमा पानी पठाउन हतार गरेकोले दुर्घटना भएको स्थानीयको आरोप छ । आयोजनामा भएको यो दुर्घटनाले काठमाडौंमा पानी पुग्ने समयमा फेरि अन्यौलता सिर्जना गरेको छ ।