कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक संख्या ४३ पुग्यो
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ।
वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत् वीरगञ्ज निवासी ७० वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। 'उहाँलाई गत मंगलबार अस्पतालमा भर्ना गरेका थियौं। स्वासप्रस्वासमा समस्या थियो। त्यसपछि उपचारको क्रममा उहाँको त्यहीँ दिन दिउँसो ४ बजे मृत्यु भयो। हिजो राति रिपोर्ट आउँदा उहाँको पोजेटिभ देखियो,' उनले भने।
वृद्धलाई सुरूमा स्वासप्रस्वासमा समस्या देखिएपछि एड्भान्स अस्पताल भर्ना गरिएको थियो। त्यसपछि अस्पालले कोरोनाको आशंकामा उनलाई गण्डक अस्पताल ‘रिफर’ गरेको थियो। अहिले वृद्धको शव अस्पतालमै राखिएको छ। शवलाई आजै सेनाको टोलीले व्यवस्थापन गर्ने डा. सिंहले बताए। मृतकसहित थप १६ जनामा संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण देखिएको हो।
संक्रमितहरूमा दुई जना स्वास्थ्यकर्मी पनि छन्। चार जना भने एडभान्स अस्पतालमा उपचाररत् बिरामी र बाँकी भने स्थानीय रहेको डा. सिंहले बताए।