बाढीपहिरो र डुबानको जोखिम धेरै, सतर्कता अपनाउन अनुरोध
(काठमाडाैं) जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) अपराह्नदेखि देशभर मौसम सक्रिय हुने जनाएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
भारी वर्षासँगै देशका थुप्रै स्थानहरुका नदी, खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३-४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको छ ।
विभागको जारी विज्ञप्तिमा भनिएको- ‘देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा तथा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ ।’
विभागका अनुसार साउन १३ गतेदेखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बहने जलसतह उल्लेख्य बढी र केही सतर्कता तह आसपास पुग्ने सम्भावना छ।
बाढी पूर्वानुमान महाशाखाले पनि सूचना जारी गर्दैै आज (सोमबार) र भाेलि (मंगलबार) देशका विभिन्न नदीमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।महाशाखाका अनुसार आज र भोलि नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधारलगायत प्रदेश ५ भई बहने साना नदीमा बहाव सतर्कता चिह्न आसपास र केही साना नदीमा खतरा तहकै आसपास पुग्ने पूर्वानुमान छ ।
यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा बाढी पहिरोले जनधनको समेत क्षति भएको थियो ।
त्यसयता पटक/पटक ठाउँ/ठाउँमा भारी वर्षा भयो। गत असार २५ देखि २९ सम्म न्यून चापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो ।
यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यून चापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो । यसले मुलुकका धेरै ठूला नदीहरूमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँ/ठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो ।