उपत्यका भित्रिने सबैलाई प्रवेश नाकामै कोरोना परीक्षण गरिने
(काठमाडौं) सरकारले अबदेखि मुलुकको राजधानी काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामै कोरोना परीक्षण गर्ने भएको छ ।
केही दिन अघि लकडाउन खुलेसँगै काठमाडौं भित्रिनेको संख्या अत्यधिक बढेपछि राजधानीमा कोरोनाको सम्भावित जोखिम रोक्न सीमा नाकामै परीक्षणको व्यवस्था गर्न लागिएको हो ।
उपत्यका छिर्ने मुख्य दुई नाका उपत्यकाको पश्चिम तर्फ पर्ने थानकोटको नागढुंगा र पूर्व तर्फ पर्ने साँगा हुँदै भित्रिने सबैलाई प्रवेश नाकामै कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित अपडेटका क्रममा जानकारी दिए । तर यसवाहेक उपत्यका प्रबेशका अन्य नाकाको बारेमा भने उनले कुनै उल्लेख गरेनन् ।
प्रवक्ता डा. गौतमले उपत्यकाको जोखिमलाई मध्यनजर गर्दै दुई नाकाबाट उपत्यका भित्रिने १० हजार जनाको कोरोना परीक्षण आइतबारबाटै शुरु गर्ने जानकारी दिए ।
घनावस्ती रहेको उपत्यकामा कोरोना संक्रमण फैलिए त्यसलाई नियन्त्रणमा लिन कठिन हुने विज्ञहरुले बताउँदै आएका छन् ।