बुधबार कोरोनाका दुई सय ५५ संक्रमित थपिए
बुधबार कोरोनाभाइरसका दुई सय ५५ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो। मंगलबारसम्म कोरोनाका १६ हजार एक सय ६८ संक्रमित थिए। यो संख्या बढेर बुधबार १६ हजार चार सय २३ पुगेको हो। देशभरका क्वारेन्टिनमा २५ हजार ४० जना मानिसहरू छन्। कोरोनाबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा कोरोना संक्रमित अहिले भेटिएका छैनन्। महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सय जनाभन्दा धेरै कोरोना संक्रमित छन्।
बुधबार काठमाडौं उपत्यकाभित्र २३ जना संक्रमित भेटिएका छन्। गौतमका अनुसार काठमाडौंमा १६ र ललितपुर जिल्लामा सात जना संक्रमित थपिएका हुन्।