मलामी खोज्दै प्रहरी
(कैलाली) बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।
भण्डारीका अनुसार असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर साउन ६ गते घर गएका थिए । नगरपालिकाका सिनियर अहेब भूमिराज जोशीका अनुसार बैंग्लौरबाट उनी, उनको छोराको परिवारसहितको एक समूह आएर क्वारेन्टिनमा बसेको थियो ।
जोशीले भने, ‘क्वारेन्टिनमा बस्ने क्रममा साउन १ गते उनमा स्वास्थ्य समस्या आएको थियो । त्यसपछि उनलाई जिल्ला अस्पताल लैजानका लागि एम्बुलेन्ससमेत मगाएका थियौं । तर क्वारेन्टिनमै बसेका उनको छोराले अस्पताल लैजानुपर्ने बिरामी नभएको भन्दै क्वारेन्टिनमै झारफुक गरेका थिए ।’ वडाध्यक्ष कर्णबहादुर धामीले स्वास्थ्यमा समस्या देखिएपछि सामान्य जडीबुटी खाएको तर उपचार नगराएको बताए । ‘मैले एम्बुलेन्सको व्यवस्था गर्छु भन्दा पनि उहाँहरूले मान्नुभएन सामान्य हो ठीक हुन्छ भन्नुभयो’ उनले भने ।
१४ दिन क्वारेन्टिनमा बस्दा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि उनीहरुलाई परीक्षण नगरी घर पठाइएको सिनियर अहेब जोशीले बताए । ‘साउन ६ गते घर जाने क्रममा उनीमा कुनैपनि स्वास्थ्य समस्या थिएन । एक्कासी साउन ९ गते उनको मृत्यु भएको खबर पायौं’ जोशीले भने ।
मृतकको कोरोना रिपोर्ट आएपछि अब उनको सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारी भइरहेको वडाध्यक्ष धामीले बताए । वृद्धलाई भारतबाटै कोरोना संक्रमण भएको आशङ्का गरिएको वडाध्यक्ष धामीले बताए ।