कोरोना संक्रमितले दिएको 'कोभिड पार्टी' मनाउँदा ३० वर्षीय युवाले ज्यान गुमाए
कोरोना भाइरसले संसारभरि ५ लाख ७२ हजारभन्दा बढीको ज्यान लिइसकेको छ, तर कतिलाई अझै पनि यो ‘भ्रम’ हो कि भन्ने लाग्छ।
महामारीलाई यस्तै ‘भ्रम’ ठान्ने एक अमेरिकी व्यक्तिले हालै त्यसको नराम्रो नतिजा भोग्नुपर्यो। टेक्सासका ३० वर्षीय व्यक्ति ‘कोभिड–१९’ पार्टीमा भाग लिएर आएपछि कोरोना भाइरसबाट संक्रमित भए र उपचार क्रममा उनको ज्यान गयो। ‘कोभिड पार्टी’ भनेको अमेरिकामा पछिल्लो समय चलेको एक जमघट हो, जसमा संक्रमितले साथीहरूलाई निम्ता गर्छन्। उनीहरू यो भाइरस परास्त गर्न सकिन्छ भनेर पुष्टि गर्न त्यस्ता पार्टीमा सरिक भएर संक्रमितसँगै खाने–पिउने गर्छन्।
त्यस्तै एउटा पार्टीमा भाग लिएर आपछि टेक्सासका ती युवालाई संक्रमण भएको थियो। रोगले च्याप्दै लगेपछि उनी उपचार गर्न सान एन्टोनियोको मेथोडिस्ट अस्पताल भर्ना भएका थिए। त्यहाँका मेडिकल अफिसर जेन एप्प्लबाईका अनुसार, उनलाई कोरोना भाइरसप्रति कुनै विश्वास थिएन। अमेरिकामै यसले १ लाख ३५ हजारभन्दा बढीको ज्यान लिइसक्दा पनि उनी यसलाई ‘भ्रम’ नै मान्थे।
‘कसैलाई भाइरस संक्रमण भयो भन्ने थाहा पाएपछि आफ्ना साथीहरू डाकेर पार्टी दिन्थे। उनीहरू सबै त्यो पार्टीमा सरिक भएर भाइरस परास्त गर्न सकिन्छ भनेर देखाउन चाहन्थे,’ एप्पलबाईले आइतबार अमेरिकी सञ्चार माध्यमसँगको भिडियो वार्तामा भनेकी छन्।
‘उनी सोच्थे– युवाहरूलाई कोरोनाले छुन सक्दैन। संक्रमण भइहाल्यो भने पनि गम्भीर असर पार्दैन,’ एप्पलबाईले भनिन्, ‘आफैं संक्रमित भएर अस्पताल भर्ना हुनुपरेपछि उनले पछुतो मान्दै नर्सलाई भनेका थिए– मलाई लाग्छ, हामीले त्यसरी पार्टी गरेर गल्ती गर्यौं।’ उनका अनुसार युवा बिरामीहरूलाई यो रोगले थला पारिसकेको झट्ट थाहा हुँदैन।