कपनको सडक र पसल डुबानमा
(काठमाडौं) बर्षातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ ।
सडकको किनारबाट उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको छ र पसल डुबानमा पर्ने गरेका छन् । चाबहिलको गोपीकृष्ण हल नजिक ढल भत्किएर सडकबाट नहरमा झैँ पानी बग्ने गरेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको भन्दै स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।
घुडाँसम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् ।
ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् । यहाँको सडक हुँदै मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेहरुलाई त निकै समस्या छ ।
कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका स्थानीयवासी आजित बनेका छन् । कपन मिलनचोकमा रहेको तरकारी बजार हुँदै आकाशेधारा पुग्ने सडकको दयनीय अवस्थाका कारण तरकारी व्यवसाय नै चौपट भएको भन्दै व्यापारीको गुनासो छ । गुनासो भए पनि सुनेर माग सम्बोधन गर्ने कोही नभएपछि उनीहरुको आक्रोश झन् बढी देखिन्छ ।
यसरी सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर सुविधा दिनुपर्ने माग छ तर जनप्रतिनिधि तथा ठेकेदार कम्पन्नीले भने विभिन्न कारण देखाउँदै स्थानीयवासीको मागको बेवास्ता गर्दै आएका छन् । सरकारले सडक निर्माण सम्पन्नका लागि उपयुक्त निर्णयका साथ निर्माणकार्य अगाडि नबढाउने हो भने यहाँका स्थानीयवासीले अझै केही वर्ष अहिलेकै अवस्थाको सडक व्यहोर्नुपर्ने स्थिति छ ।