दार्चुलामा २ को मृत्यु, ३ घर र विद्यालयसहित ८५ चौपाया बगायो
(दार्चुला) गएरातिको अविरल वर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलामा आएको बाढीले घर र गोठ बगाउँदा ५ वर्षीय बालिका सहित २ जनाको मृत्यु भएको छ । यस्तै ३ घर र एक विद्यालय बगाउँदा ८५ चौपाया समेत बगेका छन् ।
बाढीले स्थानीय हरजित ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमती ठगुन्ना र सोही ठाउँका मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पारवती ठगुन्नाको मृत्यु भएको नौगाड प्रहरी चौकी प्रमुख भुवन बहादुर चन्दले जानकारी दिनुभयो ।
नौगाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मृतकको शव पुरिएको अवस्थामा घर भित्रबाट निकालेको उहाँले बताउनुभयो । बाढीसंगै पहिरोमा परि घाइते भएकी हरजित ठगुन्नाकी २२ वर्षीया बुहारी मोहना ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो ।
घट्नास्थलमा नौगाड प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट उद्दारका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
बाढीले स्थानीय हरजित ठगुन्नाको दुई तले पक्की घर, विरभान सिंह ठगुन्नाको खरले छाएको घर, सोही ठाउँमा रहेको समैजी आधारभूत विद्यालयको १२ कोठे भवन, शौचालय, खानेपानी ट्याङकी, साइमल सिंह धामीको घर बगाएको छ, भने २ घोडा, १८ बाख्रा, ४ गोरु, ३ गाई समेत बगाएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिनुभयो ।
यस्तै स्थानीय देव सिंह धामीको दुई तले पक्की घर, जमिन, पानी घट्ट, २ गोरु, २ गाई, २ बाच्छी बगाएको छ भने सालीभान सिंह धामीको घर, दुर्गे शिवराज र लोकेन्द्र खत्री तीन भाईका ५१ बाख्रा र गोठ बगाएको उहाँले बताउनुभयो ।