रुकुम पश्चिममा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ४ जनाको उद्धार
रुकुम पश्चिममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ।
बाफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा मंगलबार विहान ४ बजे हस्तबहादुर सुनारको घर पुर्दा १६ वर्षीय बलबहादुर सुनार र २२ वर्षीय नविन सुनारको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले उनीहरुको शव प्रहरी र स्थानीयको प्रयासले मंगलबार विहान फेला पारेको जानकारी दिए। डिएसपी केसीका अनुसार ती दुबै युवाको शव एकै ठाउँमा फेला परेको थियो। त्यस्तै पहिरोमा फसेकामध्य हस्तबहादुरकी ६० वर्षीया आमा झुपी, श्रीमती २२ वर्षीया ब्युझना, छोरीहरु ५ वर्षीया कोपिला र ३ वर्षीया ऋतुको सकुशल उद्धार गरिएको छ।
पहिरोमा परेका उनीहरुले हार गुहार गर्दै कराएको हुँदा गाउँले र स्थानीय प्रहरी मिलेर तत्कालै उद्धार गरेको डिएसपी केसीले बताए।