झापामा पहिरोले पुरिंदा १ जनाको मृत्यु
झापा : झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ७ मोदी डाँडामा पहिरोले घर पुरिंदा एक जनाको ज्यान गएको छ। उक्त घटनामा ३ जना घाइते भएका छन्।
गए राति १०:३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको ज्यान गएको हो। दर्नाल ७ दिन अगाडि मामा घर आएका थिए। पहिरो झर्दा उक्त घरमा ७ जना रहेका थिए। अरु गहिरो निन्द्रामा नपरेकाले घर लच्किन सुरु हुनेबित्तिकै निस्किन भ्याएका थिए। मृतक दर्नाल गहिरो निन्द्रामा भएका कारण पनि उनलाई जोगाउन नसकिएको स्थानीय दिपेन लावतीले बताए।
पहिरोको कारण सोही ठाँउका थप दुई घर जोखिममा देखेपछि उनीहरूलाई स्थानीय चर्चमा सारिएको गाउँपालिका अध्यक्ष रमेश भुझेलले जानकारी दिए। भुझेलका अनुसार घाइतेको अवस्था अहिले सामान्य छ। मृतक दर्नालको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।