सुदूरपश्चिममा ८० जनामा कोरोना पुष्टि
(धनगढी) सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर फेरि बढेको छ । मंगलाबार मात्र प्रदेशका ८० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरा अस्पतालमा मंगलबार भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि गरेका थिए। यस्तैगरी डोटीका ३५ र बझाङका तीनजनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालयमा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिला गरी चारजनामा कोरोना पुष्टि भएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
मंगलबार थपिएका संगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भइसकेका छन् भने ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ११ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय १५, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका पाँच सय १५, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ८२ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो ।