दिल्लीका स्वास्थ्यमन्त्रीलाई कोरोना देखियो
दिल्लीका स्वास्थ्यमन्त्री सत्येंद्र कुमार जैनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार आफूमा कोरोनाभाइरसको संक्रमण देखिएको भन्दै उनले ट्वीटरमार्फत् जानकारी गराएका हुन्। 'आज मेरो कोरोनाभाइरसको परीक्षण पोजिटिभ देखियो,'उनले ट्वीटरमा लेखेका छन्। उनमा संक्रमण देखिएपछि मंगलबार परीक्षण गराएका थिए। जसमा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि पनि लक्षण मिलेपछि चिकित्सकहरूले पुन: परीक्षण गराउन आग्रह गरेका थिए। जसमा संक्रमण पुष्टि भएको हो।
गत हप्ता ज्वरो आएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि परीक्षण गराएका थिए। तर उनको रिपोर्ट भने नेगेटिभ आएको थियो। गत आइतबार गृहमन्त्री अमित शाह, केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धन, मुख्यमन्त्री केजरीवाल र उपमसुख्यमन्त्री मनिष सिसोदियाबीच भएको छलफलमा जैन पनि सहभागी भएका थिए।
मन्त्री जैनलाई गत सोमबार राति नै ज्वरो आएपछि दिल्लीको राजिव गान्धी सुपर स्पेसियालिटी अस्पतालमा भर्ना गरिएको थियो। उनमा स्वासप्रस्वासको समस्या देखिएको थियो।