अष्ट्रेलियामा कोरोनाको दोस्रो संक्रमण लहरको त्रास
(ताज्मानिया) विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ ।
लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् । विगत तीन दिनको समयमा मेलबर्नमा मात्रै १५० जनाभन्दा बढी नयाँ संक्रमितहरु थपिएका छन् । जसमध्ये आइतबार मात्रै ४९ जना थिए, जुन अष्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितहरुको संख्या अप्रिल महिनायताकै सबैभन्दा धेरै हो ।
यद्यपि अष्ट्रेलियाका अन्य कतिपय राज्यहरुमा नयाँ संक्रमितहरुको संख्या न्यून छ भने कतिपय राज्यहरु भाइरसमुक्त भइसकेका छन् ।
अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण न्यून भएपछि विभिन्न राज्यले आफ्नो मौलिकताअनुसार लगाइएका प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेका थिए । सामाजिक प्रतिवन्ध खुकुलो भएसँगै मानिसहरुले सामूहिक भेटघाटमा बढी जोड दिएका थिए । मेलबर्नमा सुरु भएको दोस्रो संक्रमणको लहरको मुख्य कारण यकिन गर्न नसकिए पनि सामूहिक भेला मुख्य कारण हुनसक्ने अधिकारीहरु बताउँछन् ।
नयाँ संक्रमण देखिएकाहरुमध्ये सबैभन्दा धेरै मेलबर्नका दुई होटलका कामदारहरु छन् जुन होटलमा विदेशबाट फर्केका यात्रुलाई अनिवार्य क्वारेन्टिनमा राखिने व्यवस्था गरिएको थियो । सामाजिक दुरीलाई नजरअन्दाज गर्दै विदेशबाट आएका व्यक्तिबाट अन्यमा संक्रमण फैलिएको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।