भक्तपुर क्यान्सर अस्पतालमा उपचारार्थ आएकी १२ वर्षीया बालिकामा कोरोना पुष्टि
(भक्तपुर) भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आएकी १२ वर्षीया बालिकामा शनिबार राति कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालकोे एनएक्स वार्ड सिल गरिएको छ । सो वार्ड आज बिहानबाट सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
काभ्रे जिल्लाका संक्रमित बालिकालाई काठमाडौंको बीर अस्पतालबाट ब्रेन सम्बन्धी रोगको अपरेशन गर्न भक्तपुर क्यान्सर अस्पतालमा रेफर गरिएको थियो । बालिकाको अपरेशन पूर्व गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बताउनु भयो । उनलाई थप उपचारको लागि शनिवार राति नै त्रिवि बिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रमुख मिजारले बताउनु भयो ।
बालिकाको अपचारमा संलग्न अस्पतालका ५ जना डाक्टर, १२ जना नर्सलाई अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ भने एनएक्स वार्डमा रहेका १३ जना बिरामी र १३ जना कुरुवा सबैलाई अस्पताल मै क्वारेन्टाइनमा राखिएको प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिनुभयो ।
अस्पतालको क्वारेन्टाइनमा रहेका सबैको कोराना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिसकेको समेत तजलेले जानकारी दिनु भयो । अस्पतालका अन्य सेवा र सुविधाहरु भने सबै सञ्चालनमा रहेको पनि तजेलले बताउनुभयो ।