प्रदेश २ मा ११० जना कोरोना संक्रमित थपिए
(वीरगञ्ज) पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५ जना महिलासहित १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनुषामा १ जना, सर्लाहीमा ६ जना, रौतहटमा ७४ जना, बारामा १२ जना र पर्सामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेशमा संक्रमितको संख्या २ हजार १४ पुगेको छ । प्रदेशमा ३२ हजार २ सय ७ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा १३ हजार ६८ जनाको नतिजा आउन बाँकी छ ।
तर सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले स्वाब संकलन र पीसीआर परीक्षणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । ‘स्वाब संकलन र पीसीआर परीक्षणलाई बढाएका छौं, यसले क्वारेन्टिनमा बस्नेको संख्या घटेको छ, होम क्वारेन्टिनमा बढेका छन्m,’ सचिव घिमिरेले भने, ‘अझैपनि आइसोलेसनमा राख्नुपर्नेको संख्या बढेको छ । त्यसै अनुसार तयारी गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेका छौं ।’
प्रदेशमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिने क्रम बढेको छ । प्रदेश सरकारले हरेक चरणमा स्वास्थ्यकर्मीको सुरक्षाका लागि हरसम्भव प्रयत्न गर्ने बताउँदै सचिव घिमिरेले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।
त्यसैगरी प्रदेशमा महिला र बालबालिकामा संक्रमण देखिने क्रम बढेको बताउँदै उनले आफ्नो सुरक्षा आफैं गर्न नसक्ने वर्गको विशेष ख्याल राख्न समेत स्वास्थ्य संस्थालाई निर्देशन दिएका छन् ।
‘संक्रमित बालबालिका र महिलाको संख्या बढेको छ, जसले आफ्नो सुरक्षा आफैं गर्न सक्नुहुन्न त्यस्तो वर्ग र समुदायको संरक्षण सरकारले गर्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्य संस्थाले बालबालिकालाई काउन्सिलिङमा विशेष ध्यान दिनुपर्छ ।’
धनुषाको जनकपुर उपमहानगरपालिका स्थित गोपाल धर्मशाला क्वारेन्टिनका ३० वर्षीय, सर्लाहीको बरहथवा नगरपालिकाका १९ वर्षीय, सर्लाहीकै हरिपुर नगरपालिकाका १ देखि १८ वर्षसम्मका ३ जना र ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट वृन्दावन नगरपालिकाका १८ देखि २५ वर्षका ३ जना पुरुष, परोहा नगरपालिकाका १ देखि ४५ वर्षसम्मका २४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । राजपुर नगरपालिकाका १ देखि ४० वर्ष उमेर समूहका १३ जनामा संक्रमण पुष्टि भएको छ । रौतहटकै इशनाथ नगरपालिकाको ३० वर्षीया एक महिलासहित १० देखि ४० वर्षसम्मका १८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
रौतहटकै देवाही गोनाही नगरपालिकाका १८ देखि ४८ वर्षका ७ जना पुरुष, यमुनामाई गाउँपालिकाका १६ र २५ वर्षीय पुरुष, गढीमाई नगरपालिकाका १९ र २१ वर्षका पुरुष, माधव नारायण नगरपालिकाका ३५ वर्षीय पुरुष तथा अनोरीलाल मावि, ध्युरा मावि, जनता मावि र पियुर एकेडेमी क्वारेन्टिनका ४ जनामा संक्रमण देखिएको छ ।
बाराको पचारौता नगरपालिकाका १६ देखि ४० बर्षसम्मका १२ जना पुरुष, पर्साको पोखरिया नगरपालिकाका ३६ वर्षीया एक जना महिलासहित १९ देखि ४५ वर्षीय ८ जना पुरुष गरी कुल ९ जना, वीरगञ्ज महानगरपालिका बस्ने ३२ वर्षीया एक जना महिला, सखुवा पर्साैनी गाउँपालिकाका ४० वर्षीय पुरुष, बिन्दवासिनी गाउँपालिकाका २६ वर्षीय पुरुष, जिराभवानी गाउँपालिकाका ३२ वर्षीय पुरुष, धोबिनी गाउँपालिकाका २७ वर्षीय पुरुष, पर्सागढी नगरपालिकाकी ३१ वर्षीया एक महिला र पटेर्वा सुगौली गाउँपालिकाका २० र २७ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको हो ।