प्रतीक चिन्हमा आपत्ति जनाउँदै फेसबुकले ट्रम्पको विज्ञापन हटाइदियो
फेसबुकले कुनै समय नाजीहरूले प्रयोग गरेको प्रतीक चिन्ह प्रयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप-राष्ट्रपति माइक पेन्सको विज्ञापन हटाइदिएको छ।
विज्ञापनमा जर्मन नाजीहरूले प्रयोग गर्ने उल्टो रातो त्रिकोणको प्रयोग गरिएको थियो। यो प्रतीक चिन्ह नाजीहरूले राजनीतिक वन्दी, कम्युनिस्ट र यातना गृहका मानिसहरूलाई छुट्टयाउन प्रयोग गर्ने गर्थे। बिहीबार फेसबुकले ट्रम्पको उक्त विज्ञापन 'संस्थागत घृणा फैलाउने नीति' विरूद्ध भएकाले हटाइएको जनाएको छ।
अमेरिकाको हाउस अफ इन्टिलिजेन्समा बिहीबार बोल्दै फेसबुकका एक कार्यकारीले आफ्नो कम्पनीले प्रसंगवश र आलोचना गर्दाका अवस्थामा बाहेक घृणा फैलाउने त्यस्ता कुरालाई अनुमति नदिने बताए।
'कुनै पनि अवस्थामा यी दुबै कुरा नदेखिए, हामी यसलाई अनुमति दिदैनौं। त्यसलाई हटाइदिन्छौं। हामीले यो विज्ञापनमा पनि त्यही देख्यौं, अन्त कतै प्रयोग गरिएको थियो भने पनि हामी सोही कदम उठाउने थियौं', कम्पनीका सुरक्षानीति प्रमुखले भने।

ट्रम्पको प्रचार अभियानले उक्त विज्ञापनका लागि १ हजार अमेरिकी डलर खर्च गरेको थियो भने बुधबारबाट फेसबुकमा त्यसको प्रचार आउन थालेको थियो।
ट्रम्पको निर्वाचन अभियानका संचार निर्देशक टिम मुर्तउले सो त्रिकोण एन्टिफाले प्रयोग गरेको प्रतीक चिन्ह भएको र उनीहरूको विज्ञापनमा पनि प्रयोग भएको जनाएका छन्।
उनले सो प्रतीक चिन्ह एन्टि-डेफमेमेसन लिगको घृणाको प्रतीकहरूको डाटाबेसमा नभएको बताए। ट्रम्प अभियानले सो प्रतीक चिन्ह इमोजी भएको दाबी गरेको छ। 'तर विडम्बनापूर्ण कुरा के छ भने कि यसले एन्टिफालाई घृणा गर्ने समूह हो भनेर मिडियालाई स्पष्ट रूपमा स्वीकार्न जबरजस्ती ट्रम्पको विज्ञापन प्रयोग गरेको छ', उनले भने। एन्टिफा संगठनात्मक संरचना भन्दा सैदान्तिक आधारमा बाँधिएको वामपन्थी लडाकूहरूको लागि छाता शब्द हो।
ट्रम्पले एन्टिफालाई भर्खरैका केही प्रदर्शनको क्रममा भइरहेको हिंसाको लागि दोष दिएका छन् तर संघीय अधिकारीहरूले यसमा पर्याप्त प्रमाणहरू पेस गर्न भने सकेका छैनन्।