नेपालको जनसंख्या तीन करोड नाघ्यो
(काठमाडौं) बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको धेरै वर्ष भइसकेको छ ।
अब भने जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ ।
२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।