१० लाख बढी कोरोना संक्रमित हुने ब्राजिल दोश्रो मुलुक, मृतक संख्या ५० हजार नजिक
ब्राजिल १० लाख भन्दा बढी कोरोना संक्रमित भएको दोश्रो देश बनेको छ।
यसअघि अमेरिकाले यो आँकडा पार गरेको थियो। वर्ल्डमिटरका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कीर्तिमानी संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ। मन्त्रालयका अनुसार बितेका २४ घण्टामा ५४ हजार बढी संक्रमित फेला परेका छन्। यसैगरी त्यहाँ लगातार चौथो दिन १२ सय मानिसको कोरोनाका कारण मृत्यु भएको छ।
योसँगै ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ हजार पार गरेको छ। वर्ल्डमिटरका अनुसार ब्राजिलको मृतक संख्या ४९ हजार ९० पुगेको छ।
स्वास्थ्य विज्ञहरूले पर्याप्त परीक्षण नगरिएकाले यो संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन्। उनीहरूले ब्राजिलमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्न अझै केही साता बाँकी रहेको बताएका छन्।